स्पेनले दियो १४ करोडको स्वास्थ्य सामग्री

६ जेठ, बार्सिलोना । स्पेनले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र निजि क्षेत्र चेम्बर अफ कमर्सलाई पत्राचार गरेको थियो।

बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमान भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीई लगायतका स्वास्थ्य सामाग्रीहरु सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी छिन्। राजदूतसँगै नेपाल उडेका अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहिबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछन्।

यसैबीच स्पेनले नेपाललाई द्विपक्षीय तह, युरोपेली संघमार्फत र अन्य माध्यमबाट सघाउने बताएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका बाह्य मामिला, युरोपेली संघ तथा सहायतामन्त्री अरञ्चा गोञ्जालेज लायाबीच हिजो भएको टेलिफोन वार्तालापमा स्पेनले नेपाललाई निरन्तर सहयोग गर्ने बताएको हो।

आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानबाट  नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता लैजाने स्पेनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Share post:

Recent