९ जेठ, काठमाडौं । विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन अपील गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक संकट सिर्जना गर्दै देशलाई सिक्किमीकरण गर्न उद्दत रहेको आरोपसमेत उनीहरुले लगाएका छन् । बहुमत सांसदहरुले नयाँ सरकार गठनका लागि विकल्प प्रस्तुत गर्दागर्दै प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गर्नु त्यसैको कडी भएको उनीहरुको आशंका छ ।
विज्ञप्तिमा कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, माओवादी केन्द्र सम्बद्ध वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपाल (माधव नेपाल समूह)का अध्यक्ष नरेश कुमार शाही, जसपाको समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र विवेकशील साझा पार्टीको युवा संगठनका अध्यक्ष अब्दुस मियाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न उनीहरुले नेपाली युवाहरुलाई आह्वान गर्न गरेका छन् ।