..अनि स्थापना भयो भेन्टिलेटर बैंक

१२ जेठ, काठमाडौं । गत वर्ष कोभिड १९ संक्रमण फैलन थालेपछि भेन्टिलेटरको अभावले धेरैको ज्यान जान सक्ने जोखिम बढ्यो । यो जोखिमलाई राम्ररी बुझेका शिक्षण अस्पताल आईसीयू विभागका प्रमुख डा. सुवास आचार्य, डा.विशाल ढकाल, रामेश्वर खनाल, निरञ्जन श्रेष्ठ र दीपेन्द्र चौलागाईं मिलेर भेन्टिलेटर बैंक स्थापना गरे ।

गैरनाफामूलक यो संस्थाले विभिन्न अस्पतालहरूलाई भाडामा भेन्टिलेटर उपलब्ध गराउने उद्देश्य बनायो । यो समूहको सहयोग र बैंक ऋणबाट करीब पाँच करोडको सामान जुटिसकेको छ । त्यो रकमबाट साना–ठूला गरेर ६० वटा भेन्टिलेटर संस्थाले किनिसकेको छ । ती सबै भेन्टिलेटर प्रयोगमा आइरहेको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सर्भिसेजले न्यूनतम शुल्क राखेर अस्पतालहरूलाई ती सामग्री भाडामा दिने गरेको छ । यसरी दिनुको कारण खुलाउँदै अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो उद्देश्य सहज र सुलभ रूपमा सबैको पहुँचमा सुविधा पुरयाउनु हो । अस्पतालले आफूलाई आवश्यक परेको बेला चलाउँछ । त्यसपछि फेरि अर्को स्थानमा पठाउन सकिन्छ । अर्को क्षेत्रका नागरिकको उपचारका लागि त्यो प्रयोग हुन्छ ।’

निजीलाई दिनको १२०० र सरकारीलाई दिनको ५०० मा अनि बाईप्याप र सिप्याप मेसिन भने दैनिक १५० रुपैयाँ शुल्कमा दिने गरिएको छ । अस्पतालहरूले आफ्नो आवश्यकता अनुसार भेन्टिलेटर भाडामा प्रयोग गर्न लागिरहेका छन् ।

सर्भिसेजले शिक्षण अस्पताल काठमाडौं, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, भरतपुर, जनकपुर, दाङ, भक्तपुरको नेपाल–कोरिया र भक्तपुर क्यान्सर अस्पताललाई भेन्टिलेटर दिएको छ । ग्राण्डी, मेडिसिटी, स्टार, किस्ट, कपनको करुणा अस्पताल लगायतले अहिले भाडामा भेन्टिलेटर चलाइरहेका छन् ।

संस्थाले भेन्टिलेटर प्रयोगको लागि दक्ष जनशक्तिको पनि अभाव भएको पाएपछि केही समयअघि पोखरामा तालिम समेत चलाएको छ । समय सहज हुँदै गएपछि अन्य क्षेत्रमा पनि तालिम दिने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

के हो भेन्टिलेटर ?

भाइरसले फोक्सोमा आक्रमण गरेपछि फोक्सोले नियमित काम गर्न सक्दैन । त्यसैले शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या भएपछि बिरामीको अवस्था गम्भीर हुन जान्छ । यस्तो अवस्थाका बिरामीलाई तत्काल आईसीयू अथवा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

मानिसको स्वास्थ्य अवस्था जटिल हुँदा प्रयोग गर्ने उपकरण हो भेन्टिलेटर । भेन्टिलेटरले कृत्रिम अक्सिजन बिरामीको फोक्सोमा पुरयाएर कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्ने काम गर्छ । भेन्टिलेटर पनि विभिन्न प्रकारको हुन्छ– सिप्याप र बाईप्याप, एचएफएनसी र मेकानिकल । सिप्याप र बाईप्याप घरमै प्रयोग गर्न सकिन्छ । यसलाई मिनी भेन्टिलेटर पनि भनिन्छ ।

नियमित अक्सिजनको सहारा लिएर सास फेर्नुपर्नेहरूले घरैमा पनि यसको प्रयोग गर्ने गरेको पाइन्छ । एचएफएनसी (हाईफ्लो नोजल क्यानुला) अक्सिजन सहितको मेसिन र मेकानिकल भेन्टिलेटर चाहिं अस्पतालमा मात्रै प्रयोग गर्न सकिन्छ ।

Share post:

Recent