नवलपुरकाे मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने

१२ जेठ, नवलपुर । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले केवलकार निर्माण गर्ने भएको छ । निर्माण कम्पनीसँग चाँडै डिजाइन फाइनल गरी काम सुरु गर्ने मौलाकाली केवलकार निर्माण प्रालिका प्रोजेक्ट म्यानेजर गोकुल साउदले जानकारी दिनुभयो ।

गैँडाकोट १ धारापानीमा चढ्नेगरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्टेशन रहने केवलकारको लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउन सक्ने क्षमता केवलकारको रहने छ ।

प्रसिद्ध मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भएपछि स्थानियबासिन्दा पनि उत्साहित भएका छन । केवलकार निर्माणपछि पर्यटकहरुको थप आगमन हुने र स्थानियहरुले रोजगार समेत पाउने हुदा केवलकार निर्माणले गैडाकोट संगै नवलपुर जिल्लाकै विकासमा टेवा पुरयाउने स्थानीय बासिन्दाको भनाई छ ।

गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले मन्दिरमा निर्माण हुन लागेको केवलकार निर्माणको कामलाई सफल बनाएरै छाड्ने बताउनुभयो । जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो ।

५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब रुपैयाको लागतमा केवलकार निर्माण हुने बताइएको छ । मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो ।

Share post:

Recent