१२ जेठ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५ औँ बुद्धजयन्ती हो । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन् । यस वर्ष कोभिड–१९ को महामारीका कारण बुद्ध जयन्तीमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् ।
कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिनुभयो । आज साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको निर्वाण प्राप्तिको कामना गर्दै २५६५ औँ दीप प्रज्वलन गरिने कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।
विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।
‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । वि संं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।