१४ असोज । मृत्यु भइसकेका व्यक्तिको दोहोरो र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै उदयपुर, रामपुरको ठोक्सिला गाविसका तत्कालिन सचिव केशव प्रसाद आचार्य सहित गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधव प्रसाद खतिवडा र पुष्पराज सिग्देल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
तत्कालिन गाविस सचिवले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भर्पाइमा कैफियत जनाई लगत कट्टा गर्नु पर्नेमा मृतक लाभग्राहीहरूका नाममा दोहोरो भर्पाइ बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपश्चात् छानविन गर्दा १६ लाख ४० हजार ५ सय रूपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगले जनाएको छ ।