भाटभटेनीमा बिक्रि हुने बेकरी म्याद गुज्रेको कच्चा पदार्थले बनाएको खुलासा

भाटभटेनी सुपरमार्केटमा बिक्रिको लागि उत्पादन हुने बेकरी म्याद गुज्रेको कच्चा पदार्थ प्रयोग गरी बनाएको खुलासा भएको छ ।उपभोक्ता हित संरक्षण समिति बाँकेको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको कारकादोमा अबैध रुपले सञ्चालनमा रहेको बेकरी उद्योगबाट ठूलो मात्रामा म्याद गुज्रेको कच्चा पदार्थ बरामद गरेको थियो । नेपालगञ्ज–१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रा लि चुच्चेपाटी काठमाण्डौ’को नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुज्रेको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको हो ।

अनुगमन टोलीमा रहेका जिल्ला प्रशाशन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाण्डौबाट ल्याईएको र सबैको म्याद गुज्रेको अवस्थामा भेटिएको बताए । उनले भने, ‘काठमाण्डौमा दर्ता रहेको उद्योगले बाँकेमा घरेलुमा मात्र दर्ता भएको छ । खाद्य अनुज्ञापत्र पनि छैन । उद्योगबाट उत्पादन भएका सामानमा उत्पादन मिति तथा प्रयोग गर्ने मिति उल्लेख भएको छैन । हिजोदेखि खोजी गर्दा बल्ल उद्योग भेटियो, उद्योगमा हेर्दा बेकरी उत्पादनमा प्रयोग हुने सबै सामाग्री म्याद नाघेका मात्र छन् ।’

मानव स्वास्थ्यमा नै गम्भीर असर पर्ने खालको गुणस्तरहीन सामान प्रयोग गरेर बेकरी उत्पादन गर्ने कम्पनी र विक्रि गर्ने नेपालगञ्जको भाटभटेनी सुपरमार्केट र रोयल क्याफेलाई पनि अनुसन्धान गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका प्रभात कुमार ठकुरी बताउँछन् । यसैबीच अपरक्राष्ट प्रा लि चुच्चेपाटी काठमाण्डौको नेपालगञ्ज शाखाका प्रबन्धक विपुल बमले कारखानामा सप्लायर्सले भुलबस म्याद गुज्रेको कच्चा पदार्थ पठाएकोले आफुहरुले सबै सामान फिर्ता पठाउने तयारी गर्दै गर्दा संयुक्त अनुगमन समितिले भेट्टाएको दाबी गरे र उद्योगले म्याद गुज्रेको कच्चा पदार्थ प्रयोग गरी बेकरी उत्पादन नगरेको बताए ।

सो बेकरी उद्योगबाट उत्पादन हुने बेकरी आईटम नेपालगञ्जको भाटभटेनी सुपर मार्केट र रोयल क्याफेमा विक्रि वितरण हुँदै आएको थियो । कारखानामा बेकरी उत्पादनको लागि प्रयोगमा आउने सामाग्रीहरु नै म्याद गुज्रेको भएपछि सबै उत्पादन नष्ट गर्नको लागि भाटभटेनी तथा अन्य स्थानबाट बेचबिखन रोकेर फिर्ता उठाउन निर्देशन समेत दिएको खाद्य निरिक्षक सुवेदीले जानकारी दिए ।

Share post:

Recent