विराटनगर महानगरपालिका–१२ मा रहेको इष्ट्रन स्टार होटलमा बन्धक बनाएर विद्युत प्राधिकरणका कर्मचारीमाथि बुधबार आक्रमण गरिएको छ। विद्युत प्रयोग गरेवापत लामो समयदेखिको बक्यौता रकम नतिरेको पाइएपछि बिजुलीको लाइन काट्नलाई कर्मचारीको टोली होटलमा पुगेको थियो।
प्रहरीका अनुसार होटलका सञ्चालक विराटनगर–१ घर भएका तुलसी पोखरेलले प्राधिकरणका कर्मचारीमाथि आक्रमण गरेको पाइएको छ। पोखरेलको नेतृत्वमा होटलका सुरक्षागार्ड र कर्मचारीसमेत मिलेर इलेक्ट्रिसीयन तारानाथ खतिवडामाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ। कुटपिटबाट खतिवडाको गाला सुन्निएको, ओठ फुटेको र निधारको देब्रे पाटो फुलेको छ। ‘प्राधिकरणको पत्र सहित लाइन काट्दै जाने क्रममा होटलमा पुग्यौं’, खतिवडाले भने, ‘होटलमा छिर्नासाथ गेट बन्द गर्दै आधा घण्टाजति थुनेर गुन्डागर्दी शैलीमा आक्रमण गरियो।’ खतिवडाले भने, ‘इँटाले हानेका थिए। छलिएर बाँच्न सफल भएँ। बारम्बार ममाथि मुक्का र लात्ता प्रहार गरे।’
उनका अनुसार प्राधिकरणले दिएको पत्र देखाउनसाथ पोखरेलले तथानाम गालीगलौज गरेका थिए। ‘म को हो तैंले चिनेको छस् ? तँलाई यहीँ खाल्डो खनेर गाडिदिन्छु भन्दै धम्क्याए’, खतिवडा भन्छन्, ‘अफिसले दिएको जिम्मेवारी पूरा गर्न आएका हौँ भनेर हामीले भनेपछि आक्रमण गर्न थालियो। भाग्न खोज्दा गेट बन्द गरेर बन्धक बनाइयो।’ होटल सञ्चालकले बन्धक बनाएका कर्मचारीलाई प्रहरी र विद्युत प्राधिकरणबाट अरु कर्मचारी पुगेर उद्धार गर्दै बाहिर निकालेका थिए। पोखरेलले प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्कालाई पनि टेलिफोनमा अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गर्दै धम्क्याएको एक कर्मचारीले बताए। उनका अनुसार फोनमा भन्दा पनि कार्यालयमै कुरा गरौँला भन्दा पोखरेलले तथानाम गाली गरे।
प्राधिकरणका अनुसार पोखरेल सञ्चालक रहेको होटलले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३ लाख १४ हजार रूपैयाँभन्दा बढी शुल्क बुझाउन बाँकी छ। समयमा शुल्क नबुझाएका कारण त्यसमा २५ प्रतिशत जरिवाना थप हुन्छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता तिर्न आलटाल गरेपछि होटलको लाइन काट्न कर्मचारीको टोली खटाइएको प्राधिकरणले जनाएको छ।
होटल सञ्चालक पोखरेल विराटनगरका जग्गा कारोबारी पनि हुन्। एमालेमा रहेर राजनीतिक गतिविधीमा समेत संलग्न हुँदै आएका उनी प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकार समेत थिए।