१५ असोज, काठमाडौँ । ललितपुरको गोदावरीस्थित ‘सनराइज हल’ मा आज शुक्रबारबाट एमालेले सबैभन्दा ठूलो अधिवेशन गर्दैछ । यो महाधिवेशनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशाको साथै पार्टीको सांगठनिक संरचनाबारे निर्णय गर्नेछ ।
माओवादी र एकीकृत समाजवादी पार्टीविरुद्ध वैचारिक रणनीति तय गर्ने र हाल सरकारको नेतृत्व गरेको कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने ‘कार्यभार’ निर्माण गर्ने एमालेले जनाएको छ । पार्टीलाई संगठनात्मक दृष्टिले चुस्त र सुदृढ बनाउने कुरा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ । कम्युनिस्ट नाम भएका माओवादी र एकीकृत समाजवादीप्रति लक्षित मुख्य नारा पनि महाधिवेशनले निर्धारण गरेको छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,’ एमालेले आगामी कार्यदिशाबारे भनेको छ, ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’
महाधिवेशनमा देशैभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । माधवकुमार नेपालले पार्टी विभाजन गरी आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेपछि त्यसले पुर्याएको क्षतिलाई विधान महाधिवेशनको बलमा पूर्ति गर्ने र लगत्तै मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने एमालेको योजना छ ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक थापाका अनुसार पहिलो दिन अध्यक्षको मन्तव्यसहित तीनवटा प्रस्ताव पेस हुनेछन् । दोस्रो दिन असोज १६ मा समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति हुनेछ । तेस्रो दिन असोज १७ मा दस्ताबेज पेस गर्ने, अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले समूह छलफलबाट आएका सुझाव र उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गर्ने तयारी छ । एमालेले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरूका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको संयोजक थापाले बताए । उनका अनुसार खानाको व्यवस्थापनका लागि क्याटरिङलाई जिम्मा दिइएको छ । महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ भने दिउँसोका लागि प्याकेटको खाजा व्यवस्था गरिएको छ । प्रतिनिधिहरूले साँझको खाना भने बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने भएका छन् । निजी साधन नभएका प्रतिनिधिलाई गोदावरी पुर्याउन ललितपुरको सातदोबाटोबाट २० वटा हायसको व्यवस्था गरिएको व्यवस्थापन समितिका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।