१५ असोज, काठमाडौं । अमेरिका, युरोप, जापान, कोरिया लगायत विकसित मुलुक जाने यात्रुहरुले पर्यटक प्रवेशाज्ञा (भिसा)को लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा पाँच सय अमेरिकी डलर सटही गरेको प्रमाण देखाए पुग्ने भएको छ । यस्तै, सार्क राष्ट्र, खाडी मुलुक र थाइल्याण्ड जाने नेपाली यात्रुहरुले दुई सय पचास अमेरिकी डलर सहटी गरेको प्रमाण पेस गर्नुपर्ने छ।
गृह मन्त्रालयले बुधबार अध्यागमन कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयले बिहीबार पर्यटक भिसामा यात्रा गर्ने नेपालीहरुले साथमा बोक्नुपर्ने रकम घटाएको हो। यसअघि पर्यटक भिसामा ती मुलुक जाने यात्रुहरुले कम्तीमा १ हजार अमेरिकी डलरको सहटी प्रमाण पेस गर्ने व्यवस्था थियो। संसोधित कार्यविधि अनुसार, तोकिएको अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण अध्यागमनमा पेस गर्नुपर्नेछ । गन्तव्य मुलुकका संस्था वा खर्च व्यहोर्ने व्यक्तिले सबै व्यहोरा खुलेको पत्र अध्यागमनमा पेस गरे तोकिएको डलर आवश्यक पर्ने छैन।