काठमाडौं । काठमाडौंमा नै विभिन्न व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै बिस्कुट, चकलेट लगायतका म्याद सकिएका खाद्य सामग्रीमा नयाँ लेबल लगाएर धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गरेको अनुगमनमा ७ लाख मूल्य बराबरका म्याद सकिएका १२ किसिमका खाद्य सामग्रीहरूमा रिलेबलिङ गरेको पाइएपछि ती सबै सामान बरामद गरिएको छ । विभागका अधिकारीहरूका अनुसार राजधानीका बालाजु, स्वयम्भू, सीतापाइला क्षेत्रका विभिन्न गोदाममा म्याद सकिएका खाद्य सामग्री ठूलो परिमाणमा लुकाएर राखिएको सूचनाका आधारमा त्यस क्षेत्रमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा विभागका अधिकारीहरूले ६० लाख मूल्य बराबरका विभिन्न खाद्य सामग्रीको परीक्षण गरेको थियो । अनुगमनका क्रममा ७ लाख बराबरका बिस्कुट, पास्ता, कुकिजको म्याद सकिएको पाइएपछि ती खाद्य वस्तु बरामद गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । त्यसरी म्याद सकिएको भए पनि व्यापारीहरूले रिलेबलिङ गरी ती खाद्यवस्तु बिक्री वितरणको तयारी गरेको पाइएपछि केही व्यक्तिहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ ।