कोभिड विरुद्ध खाने औषधिको सफल परीक्षण

अमेरिकाको एक औषधि उत्पादक कम्पनीले कोभिड विरुद्धको एउटा खाने औषधि तयार पारिरहेको छ । गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु ५० प्रतिशतले घटाउने नतिजा प्राप्त भएको जनाएको छ ।

उक्त खाने चक्की मोल्नुपिरभिरको क्लिनिकल परीक्षण परिणाम अत्यन्त सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ । यो चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो । परिणाम उत्साहजनक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको सो कम्पनीले जनाएको छ ।

मर्कले अमेरिकामा अब दुई हप्तामा आपतकालिन प्रयोगका लागि अनुमति लिन निवेदन दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ । उहाँले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड–१९ का लागि पहिलो एन्टिभाइरल खाने औषधि बन्नेछ । सुरुमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याउने गरी डिजाइन गरिएको छ ।

कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले संख्या बढाउने इन्जाइमलाई नै निशाना बनाउने कम्पनीको दाबी छ । यो खाने औषधिले काम गरेको खण्डमा महामारी अन्त्य गर्न ठूलो हतियार साबित हुने मर्कका उपाध्यक्ष डारिया हजुडाले बताउनुभयो ।

Share post:

Recent