१७ असोज । पोल, अप्टिकल फाइबर लगायत संरचना प्रयोग गरेबापत भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि धमाधम काट्न सुरु गरेको छ।
‘हिजोसम्म अल्टिमेटम दिएका थियौं, सम्पर्कमा आउनेहरूको लाइन यथावत् राख्दै सम्पर्कमा नआउनेहरूको लाइन आजदेखि काट्न सुरु गरेका हौं’, प्राधिकरणका एक कर्मचारीले भने। बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगर्ने सेवा प्रदायकहरूको लाइन देशव्यापी रूपमा काट्ने काम भइरहेको उनले जानकारी दिए।
बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना गर्दा पनि सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ।