२८ असार । काठमाडौँ महानगरपालिकाले अबदेखि तोकिएको स्थानमा मात्रै डिजिटल होर्डिङ बोर्ड राख्न दिने भएको छ । हाल महानगरपालिकासँग अनुमति लिएर राखिएका विज्ञापन सामग्रीलाई समेत आवश्यकता अनुसार स्थानान्तरण गरिनेछ ।
महानगरपालिकाको राजस्व विभागले यसअघि नै डिजिटल बोर्डको मापदण्ड निर्धारण तथा स्थान चयनको विषयमा नीतिगत व्यवस्था गर्नुपर्ने प्रस्ताव विधायन समितिमा गरेको थियो । कामपा राजस्व विभागका प्रमुख डा. शिव अधिकारीले नीति तथा कार्यक्रममै यो विषय उल्लेख भएपछि कार्यान्वयन प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
त्यस्ता बोर्डले बटुवालाई आकर्षित गर्ने नाममा बोर्डबाट रङ्गीविरङ्गी प्रकाशका किरण फाल्ने गरिएको छ । तिलगङ्गा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले यस्ता किरणले अदृश्य रूपमा आँखामा समस्या निम्त्याउने बताउनुभयो । अहिले कालीमाटी, टेकु, कलङ्की, नयाँ सडक, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, माइतीघर, थापाथली, बानेश्वर, कोटेश्वर, बौद्ध, लगनखेल, भक्तपुर, बूूढानीलकण्ठ लगायत थुप्रै स्थानमा निकै ठूला डिजिटल बोर्ड राखिएका छन् ।
काठमाडौँ महानगरपालिकाले होर्डिङ बोर्डको अवधारणा हटाएपछि व्यापारीले त्यसको विकल्पका रूपमा डिजिटल बोर्डको सुरुवात गरेका हुन् । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरलाई सफा गर्ने अभियान अन्तर्गत डिजिटल तथा अन्य प्रकारका बोर्डको अनुगमन र नियन्त्रण गर्न थालिएको हो ।