खाने तेलको मूल्यमा निकै कमी

३१ असार । लगातार भाउ बढेको खाने तेल दिनदिनै सस्तो हुन थालेको छ। प्रतिकार्टुन २८ सयसम्म पुगेको सूर्यमुखी तेल २५ सय रुपैयाँ भएको छ भने २६ सय पुगेको भट्मासको तेल कार्टुनमा २२ सय रुपैयाँसम्ममा आइपुगेको छ। तोरीको तेलमा पनि मूल्य घट्दै छ।

यसअघि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले मूल्य बढाएका थिए। एक वर्षअघि प्रतिकार्टुन २१ सय रुपैयाँ रहेको सूर्यमुखीको तेल बढेर ३५ सय रुपैयाँसम्‍म पुगेको थियो। भटमासको तेल प्रतिकार्टुन ३२ सय रुपैयाँसम्म पुगेको थियो।

हाल भारततर्फको तेल निकासी नभएपछि तेल डम्प भएर बसेको छ। मागमा कमी र बजारमा उत्पादन धेरै हुँदा लामो समय स्टक बस्ने डर भएकाले नै उद्योगीहरुले हाल भाउ घटाएरै तेल बिक्री गरिरहेका हुन्।

खाने तेलको मूल्य धेरै कारणले घटेको पाइन्छ। नयाँ उत्पादन आउन थालेपछि अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको मूल्य घट्न थालेको एक आयातकर्ताले बताए। यतिबेला वित्तीय समस्याका कारण उद्योगीहरुले तेलको मूल्य घटाएर बिक्री गर्न थालेको उनले बताए। असार मसान्त नजिकिएका कारण व्यवसायीहरुलाई कर तिर्ने दबाब भएकाले रकम जम्मा गर्नको लागि उत्पादन गरेर राखेको पुरानो स्टक कम मूल्यमा बिक्री गरेको पनि बताईएको छ ।

Share post:

Recent