२ साउन । देशका २७ जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई उक्त खोप लगाउन थालेको हो । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो ।
ती जिल्लामा प्रदेश नं १ को झापा, इलाम, सुनसरी र मोरङ, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी र पर्सा, बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर छन् । यस्तै गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेल्धुराका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ । खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुनेछ ।
यस्तै दोस्रो चरणमा ५० जिल्लामा अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइनेछ । सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ ।