हिमाली जिल्ला मुस्ताङको ठिनीस्थित याकखर्कमा चौंरी र याकको रगत पिउने मेलामा रगत पिउनकै लागि सर्वसाधारणको भीड लागेको छ। साउन ४ मा शुरु भएको उक्त मेलामा दैनिक १०० जनाभन्दा बढी मानिस आउने गरेका स्थानीय चौंरीपालक कृषकहरू बताउँछन्।
स्थानीय इन्द्रसिंह शेरचनका अनुसार हिमाली लेकमा पाइने शक्तिवर्धक जडिबुटी यार्सागुम्बा, जटामसी, निरमसी, कुटकी, वन लसुन, पाँचऔंले, जिम्बु लगायत खाने भएकाले याकचौँरीको रगत स्वास्थ्यका लागि फाइदाजनक हुने विश्वासका साथ मानिसहरू चौंरीको रगत पिउन आउने गर्छन्।
यसरी चौंरी र याकको रगत खानाले यौनशक्ति वृद्धि हुने, ग्यास्टिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसर लगायत रोगहरू निको हुने स्थानीयको भनाइ रहेको छ। तर चिकित्सकहरूका अनुसार स्वास्थ्य परीक्षण नगरीकन कुनै पनि जीवको रगत र मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ।
याक र चौंरीलाई तालिमप्राप्त सिपालु मान्छेले घाँटीमा नसा पत्ता लगाइ चक्कुले नसा काटेर रगत निकाल्ने गर्छन्। रगत निकालिसकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौंरी छाडिन्छ।
यहाँका खर्कहरूमा प्रत्येक वर्ष साउन र वैशाख गरी २ पटक रगत निकालेर बिक्री गर्नका लागि नै चौंरीको रगत पिउने मेला आयोजना हुने भएकोले चौंरी र याकपालक कृषकले रगत बेचेर आम्दानी लिन पाएका छन्। एउटा वयस्क याक तथा चौंरीबाट न्यूनतम १५ देखि अधिकतम ३५ गिलाससम्म रगत निकालेर प्रतिगिलास २०० मा बेच्ने गरिएको चौंरीपालक कृषक भूपेन्द्र शेरचनको भनाइ छ।