१२ साउन, काठमाडौँ । नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको पेट्रोल पम्प निर्माण गर्ने भएको छ । ५ रोपनी जग्गामा ७ करोड रुपियाँ लागतमा टेकुस्थित नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर नयाँ पम्प बनाउन लागेको हो ।
पेट्रोल पम्प निर्माणका लागि टेन्डर आह्वान गरिएको र प्रत्येक प्रदेशमा एउटा/एउटा पम्प स्थापना गर्ने नीति अनुरूप काठमाडौँमा आफ्नै लगानीमा पम्प निर्माण गर्न लागिएको निगम प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुुभयो । ठेक्का लागेको एक वर्षमा निर्माण सम्पन्न गर्ने निगमको लक्ष्य छ । स्वचालित मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो ।
निगमका प्रबन्धक एवं इन्जिनियर रामप्रसाद बन्जराले भन्नुभयो, “पम्प २४ घण्टै खुला हुनेछ, कार्डबाट उपभोक्ताले तेल हाल्ने सुविधा रहनेछ, पम्पमा आगलागी हुन सक्ने जोखिमलाई कम गर्न फायर हाइड्रेन्ड सिस्टम जडान गरिनेछ ।”
पम्पमा भ्यापर रिकभरी सिस्टम (भीआरएस) राखिने हुँदा ट्याङ्करको तेल अन्डर ट्याङ्कीमा खसाल्ने क्रममा हावामा मिसिन नपाउनाले चुहावट नियन्त्रण गर्न मद्दत मिल्छ भने वातावरण संरक्षणमा समेत सघाउ पुग्नेछ । त्यस्तै डिस्पेन्सिङ मेसिनबाट सवारीसाधनमा भर्दा पनि पेट्रोल डिजेल उडेर हावामा मिसिन नदिने प्रणाली समेत यो पम्पमा जडान हुनेछ । पम्पमा पेट्रोल र डिजेलका दुई/दुईवटा डिस्पेन्सिङ मेसिन र डिजेल पेट्रोलका चार/चार गरेर आठवटा नोजल रहनेछन् । पम्पमा ४० हजार लिटर क्षमताको पानीको भण्डार राखिनेछ । भूमिगत ट्याङ्कीमा ४५ हजार लिटर डिजेल अटाउने र ६० हजार लिटर पेट्रोल अटाउने तीन/तीनवटा ट्याङ्की हुनेछन् । २४ घण्टा पम्प खुला हुने हुँदा बिजुलीको विकल्पमा सोलारसमेत जडान गरिनेछ ।
निगमले भैरहवा र नेपालगञ्जमा आफ्नो स्वामित्वमा पम्प निर्माण गरेर सञ्चालनमा ल्याउनुको साथै उपत्यकामा साझा सहकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका गरी १२ वटा पम्प सञ्चालनमा छन् । निजी क्षेत्रबाट मुलुकभर १ हजार ५ सय पेट्रोल पम्प सञ्चालनमा छन् भने उपत्यकामा मात्र ३०० पम्प सञ्चालनमा छन् ।
निगमले पम्प सञ्चालन गर्दा बन्द हडतालका बेला समेत नियमित रूपमा सञ्चालन हुुँदा उपभोक्तालाई सहज हुने बताइएको छ ।