१२ साउन । कैलालीका ५३ वर्षीय भागिराम चौधरी ३० औं पटकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका छन्।
२९ पटकसम्म परीक्षामा असफल चौधरी यो वर्ष २ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट उनले एसईई उत्तीर्ण गरेको विद्यालयका शिक्षक यामु शर्माले बताए। २०५२ सालबाट चौधरी सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन्।
चौधरीले कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताएका छन्। ‘यसवर्ष एसईई पास भएपछि धेरै खुशी भएको छु’, उनले भने, ‘अब कक्षा ११ र १२ पढ्छु।’
२०४८ सालमा पहिलो पटक एसएलसी दिएका चौधरी हरेक वर्ष एसएलसी परीक्षा दिँदा असफल भएका थिए।
कोरोना महामारीको क्रममा दुई वर्ष विद्यालयले आन्तरिक मूल्याङ्कन गरेर पठाएको परिणामको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको थियो। ‘त्यो बेला चौधरीले चाहेको भए एसईई पास गर्ने राम्रो अवसर थियो’, शिक्षक शर्माले भने, ‘तर, उहाँले म लेखेर पास गर्छु भनेर फाराम भर्नुभएन। अहिले राम्रो नतिजा ल्याउनुभएको छ।’
चौधरीका तीन सन्तानले भने उच्च शिक्षा हासिल गरिसकेका छन्।