काठमाडौँ। इन्डिपेन्डेन्ट लिभिङ सेन्टर ललितपुर(स्वावलम्बन जीवन पद्धती केन्द्र) द्वारा आयोजित कार्यक्रममा अधिकारकर्मी वा अभियन्ताहरूले अपाङ्ता भएका व्यक्तिलाई केही गर्न सक्दैनन् वा बाहिर देखाए इज्जत जाने एवं वाध्यताले पनि परिवारको सदस्यले घरभित्रै बाँधेर वा न्युनतम सुविधा विना नै लुकाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा सो संस्थाका अध्यक्ष भोजबहादुर श्रेष्ठले अपाङ्गता भएका व्यक्तिमध्ये पनि निक्कै सकसपूर्ण जीवन बाँच्न वाध्य अति असक्त र पूर्ण असक्त व्यक्तिको हिडडुल गर्न पाउने, सामाजमा अन्य व्यक्ति सरह घुलमिल हुन पाउने मानवअधिकारको हनन् भइरहेको बताए ।
उनले स्वावलम्बन जीवन पद्धती केन्द्रले त्यस्तो अवस्थामा रहेका अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गताको गम्भिरताको आधारमा सेवा, सुविधा उपलब्ध गराउन, सरकारको नीतिमा परिवर्तन ल्याउन पैरवी गर्ने र ओछ्यानमै सिङ्गै जीवन बस्न वाध्य अपाङ्ता भएका व्यक्तिको खोजी गर्दै आफ्नो सामान्य काम आफैं गर्न सक्ने बनाउन सहयोग गर्दै आएको जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले त्यस्तो विशेष अपाङ्गता भएका व्यक्तिको खोजी गर्दै आवश्यक सहयोगी सामग्री दिने,मनोपरामर्श र व्यक्तिगत सहयोगी उपलब्ध गराउँदा सयौंको सङ्ख्यामा अति असक्त र पूर्ण असक्तले घामको उज्यालो र समाज आफु जस्तै जीवन बाँचिरहेका साथी र अन्यसँग पनि घुलमिल हुने अवसर प्राप्त गरेको सुनाए।
कार्यक्रममा स्वावलम्वन जीवन पद्धती केन्द्रका कार्यक्रम व्यवस्थापक सन्देश भट्टराईले युएसआइडी र फेज नेपालसँगको सहकार्यमा केन्द्रले काठमाडौँ, ललितपुर,विराटनगर, कैलाली र मकवानपुरमा अति असक्त र पूर्ण असक्त अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बी जीवन बाँच्ने कला सिकाउने र सहायक सामग्रीसहित सहयोग गरिरहेको जानकारी दिएका हुन् ।
केन्द्रको कार्यक्रमबाट हालसम्म एकसय ५९ जनालाई फिजियोथेरापी, ३० वटा घरभेट कार्यक्रम, एकसय ७४ जनालाई सहायक सामग्री, ६३ जनालाई स–सानो व्यवसाय गर्न सहयोग र रोजगारीसँग जोडेर स्वावलम्बी बनाएको केन्द्रले जनाएको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्ट रावलले महानगरपालिकाले अपाङ्गतामैत्री भ्यान उपलब्ध गराएको र महानगरका भौतिक संरचनालाई पहुँचयुक्त बनाउँन र महानगरभित्र बसोबास गर्ने सबै अपाङ्गता भएका व्यक्तिमैत्री कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी दिए ।
