गोसाइँकुण्ड मेला सुरु

१९ साउन, रसुवा । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्डमा जनैपूर्णिमा र गङ्गादशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीले मेला भर्ने गरेका छन् ।

यसपटक रसुवा आउन कुनै पनि सडक खण्ड अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएको र कम वर्षा भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ । गएको वर्ष करिब १० हजार तीर्थयात्रीले मेलामा सहभागी भएका थिए ।

कुण्डमा स्नान गरी गोसाइँबाबा शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकमना पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँ भक्तजन कुण्डमा स्नान गर्न आउने गर्छन् ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरी विषको डाहा शान्त पार्न हिमालयखण्डको काखमा आएर शिवले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भएको र त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको किम्वदन्ती पाइन्छ ।

Share post:

Recent