२४ साउन । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङले यसका लागि सरकारले ६० करोड रुपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
गण्डकी प्रदशेको ११ वटै जिल्लामा कम्तीमा एक खेल आयोजना गरिने बताइए पनि राखेपले नवौं राष्ट्रिय खेलकुदमा समावेश खेलहरु पोखरा केन्द्रित हुने जनाएको छ । प्राविधिक समितिले उपयुक्त ठानेको ठाउँमा प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
पोखरामा पौडी र सुटिङ खेलका लागि आवश्यक संरचना नभएकोले काठमाडौंमा हुन सक्ने उल्लेख गरिएको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुनेछ । यस खेलकुदमा ३६ नियमित र २ वटा प्रदर्शनी गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोलीको सहभागिता रहनेछ । सहभागी टोली र खेलाडीले कूल ३९३ स्वर्ण, सोही सङ्ख्यामा रजत र ६०१ काँस्य पदकका लागि प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ । सर्वाधिक पदक जित्ने टोली टिम च्याम्पिन बन्नेछ । टिम च्याम्पियनले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी हात पार्नेछ ।
राखेपले नवौं राष्ट्रिय खेलकुदमा एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई २५ हजार, टिम स्पर्धामा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रत्येक टोलीमा ३३९ महिला र ३६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ । राखेपले नवौंमा भाग लिन भदौ १५ गतेभित्र खेलाडी सङ्ख्या र २५ गतेभित्र खेलाडीको नाम दर्ता गराइसक्न सहभागी टोलीलाई पत्राचार गरिसकेको छ ।