२५ साउन, । दैलेख जिल्लाको महावुधाम धार्मिक तथा पयर्टकीय क्षेत्रको रुपमा प्रख्यात छ ।
उच्च लेकाली क्षेत्रमा पर्ने महावु क्षेत्र धार्मिक मात्र नभएर प्राकृतिक सौन्दर्यको हिसाबले समेत महत्वपूर्ण छ । नेपाल सरकारको १०० वटा पर्यटकीय गन्तव्यमध्येको महावुधाम एक हो ।
प्रत्येक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा पछिल्लो समय हजारौं दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ । कठिन भिरको बाटोमा ज्यानै हत्केलामा राखेर चढ्न मात्रै पनि मोक्ष प्राप्त हुने विश्वासमा मानिसहरु तिर्थाटन गर्न पुग्ने गरेका छन् ।
चारैतिर पाटनको बीचमा विशाल आकृतिको चट्टानको बीचमा मस्त निन्द्रामा भएको बेला निदाएकै ठाउँको मध्यभागमा शिवलिङ्ग स्वरुप भएको, कसैलाई पनि नसुनाउनु, नभन्नु र नियमित दूग्ध स्नान गराउनु भन्ने आकाशवाणी भए अनुसार लाटा ब्राह्मण युवाले नियमित नित्य पूजा आराधाना गरिरहे तर कसैलाई भनेनन् ततपश्चात् उनी बोल्ने मात्र नभएर वेद, उपनिषद् पढ्न सक्ने भए र नियमित पूजा आराधना गर्न थाले भन्ने विश्वास छ । आजसम्म पनि आचार्य उनैको सन्तानहरुले निरन्तरता दिइरहेका छन् । यद्यपि कालिकोट जिल्लाका काफ्ले कुलका १ जना र दैलेख जिल्लाका आचार्यका १ जना गरेर २ जना पुजारीले पूजा गर्ने परम्परा छ ।
यस क्षेत्रका किसानहरुले लगाएको वर्षे खेतीलाई गाथकै धाममा धार्मिक विधि अनुसार नै पहिलो भोग शिवलिङ्गमा चढाएर मात्र आफूले सेवन गर्ने गर्दछन् । योसँग गोठमा होस् या पाटनमा चर्न आएको पशुचौपायाहरुको कालगतिले होस् या भीरबाट लडेर मृत्यु भएको रहेछ भने सोही पशुको गोँसाईले दाम्लो आफैंले लगाएर धामको परिक्रमा गर्ने समेत प्रचलन छ ।
महावुधाम क्षेत्रको दुई खण्ड छ । सडकको पहुँच भएको पाटन क्षेत्र उत्ताङ ऋषिको तपोभूमि हो जसलाइ उत्तरगङ्गा भन्ने गरिन्छ । दोस्रो खण्ड पाटन क्षेत्रबाट करिब एक घण्टाको नाकै ठोक्किने अक्करे भिर छिचोलेर गाथको मेला लाग्ने स्थान अर्थात शिवलिङ्ग दर्शन गर्ने स्थानमा पुग्न सकिन्छ ।
खासगरी सन्तान प्राप्ती नभएका महिला तथा पुरुषहरु तीर्थाटन गरि अनुष्ठानको तिलक ल्याएर फर्किएका श्रद्धालुहरुबाट आशिष थाप्ने गर्दछन् । तीर्थाटन गरेर फर्किएका श्रद्धालुहरुलाई आफूले प्रसाद स्वरुप ल्याएको सातु, कसार, फलफूल आदि दिने गर्दछन् । पूजापाठका लागि गएका भक्तजनहरूले मुख्य मन्दिरको परिक्रमा गर्दा बुकी झारसहित मुखमा घाँस मुखमा च्याप्ने चलन अहिले पनि कायमै छ । शिवलिङ्ग भएको स्थानलाई सबै तीर्थयात्रीहरूले ७ पटकसम्म परिक्रमा गर्ने गर्दछन् ।
नाउलीबाट लिस्नेको घुम्ती पार गरेपछि पाटन पुग्न सकिन्छ । पैदल हिड्नेहरु भीरको बाटोबाट आधि घण्टामा पाटन पुग्न सक्छन् । सडकबाट हिड्नेहरु करिब २ घण्टाको यात्रापछि पाटन पुग्दछन् । पाटनबाट करिब एक घण्टाको उकालोपछि शिवलिङ्ग भएको स्थानमा पुग्न सकिन्छ । धार्मिक पर्यटन विकासको लागि महावु क्षेत्र महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।