जनैपूर्णिमा साउन २७ गते

२६ साउन । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्ति प्रकाशित गरी यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व साउन २७ गते शुक्रबार नै मनाउनु पर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाल लगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, सदस्य एवम् धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । ती वर्षमा पनि रक्षाबन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो ।

विज्ञप्ति अनुसार पूर्णिमा तिथि टुटेर साउन २६ गते सूर्योदयको २ घडीपछि साउन २७ गते ४ घडीसम्म छ । यस्तो अवस्थामा साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउनुपर्ने शास्त्रीय वचन अनुसार समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाले भ्रममा नपरी त्यसै अनुरुप पर्व मनाउन समितिले आह्वान गरेको छ ।

Share post:

Recent