३० साउन । पहिरोको बढी जोखिम भएका ४ जिल्लाका १० स्थानमा पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीमा यो कार्य गरेको समाजका सदस्य गोपीकृष्ण बस्यालले बताउनुभयो । सिन्धुपाल्चोकका कोदारी, तामाङगाउँ, मार्मिङ र चाकुबजार, काभ्रेपलाञ्चोकका बोल्दे, चुखाबेँसी र थिलवार, दोलखाका सुष्पाक्षमावती र चरीकोट र म्याग्दीका तातोपानी, फागमडाँडा, घट्टेखोला, रुप्से र काभ्रेमा जडान गरिएको सो उपकरणले वर्षाको प्रकृति, माटोको प्रकार तथा माटोमा पानीको प्रतिशतको मापन गर्नेछ ।
जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरलाई जानकारी प्रवाह गर्छ । सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटन जस्ता उपकरण आवश्यक पर्छ ।
यसै प्रविधिका कारण केही वर्ष अघि भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपी ठूलो क्षति हुनबाट जोगिएको थियो । उपकरणबाट प्राप्त सङ्केतका आधारमा भारतीय प्रहरीले त्यहाँको सडकखण्डबाट गुडिरहेका सवारीसाधनलाई हटाएको थियो । लगत्तै सोही स्थानमा पहिरो गई सडकखण्ड पूर्ण ध्वस्त भएको थियो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रविधि प्रयोगकै कारण सही सूचना समयमा उपलब्ध हुँदा एक वर्ष अघि मेलम्ची र पाँचपोखरी थाङ्पालमा भएको बाढी पहिरोमा मानवीय क्षति कम भएको उल्लेख गर्नुभयो ।