मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुको विषयमा स्थानिय सरकार सँग छलफल

काठमाडौं। मनोरञ्जन तथा सत्कार सेवाका लागि स्थापना गरिएका दोहोरी रेष्टुरेन्ट, पव, बार, खाजाघरलगायत होस्टलहरूको तथ्याङ्क वडा तहमा नहुँदा त्यस्ता क्षेत्रमा समस्या परे कानुनी कदम चाल्न स्थानीय तहलाई समस्या हुने गरेको जनप्रतिनिधीहरूको भनाई छ ।

उक्त क्षेत्रका श्रमिकका हक, अधिकार र दायित्वबारे पैरवी गर्दै आएको विश्वास नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा उपत्यकामा सञ्चालित रेष्टुरेन्ट तथा खाजाघरहरू वडामा दर्ता गर्नै नआउने समस्या रहेको जनप्रतिनिधीहरूले खुलासा गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हिलालाल तण्डुकारले आफ्नो वडामा रहेका रेष्टुरेन्ट, खाजाघरलगायत होस्टेलहरूलाई वडाको दर्ता प्रक्रियामा आउन गरेको आव्हानको पालना नहुँदा यस क्षेत्रको विकृति नियमन तथा त्यहाँ कार्यरत श्रमिकको तथ्याङ्क समेत राख्न समस्या भइरहेको बताउनुभयो ।

उहाँले घरवेटीहरूले आफ्नो घर कुन प्रयोजनका लागि भाडामा दिदैछु भन्ने हेक्का राखेर कम्तिमा स्थानीय तहसँग समन्वय गरेर व्यवसाय, उद्यमको जानकारी दिने काम गरेमा श्रमिक तथा व्यवसायी स्वयं समस्यामा पर्दा स्थानीय तहको सहयोग लिन सकिने दाबी गर्नुभयो । कार्यक्रममा विश्वास नेपालकी कार्यकारी निर्देशक मधु गुरूङले संस्थाको स्थापनाको उद्देश्य र गतिविधीबारे विस्तृत रूपमा जानकारी दिनुभएको थियो । उहाँले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिकको आत्मसम्मानपुर्वक काम गरी पाउने हकका लागि संस्थाले श्रमिक, व्यवसायी र नीति निर्माता तथा राज्यका साथै विकास लागि कार्यरत विभिन्न निकायसँग साझेदारी, समन्वय गरी काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक गुरूङले यस क्षेत्रमा बालबालिका पनि संलग्न रहेकोले उनीहरूको शिक्षा र परिवारलाई साना उद्यमका लागि सहयोग गर्दै आएको, बालक्लवमार्फत सङ्गठित बनाउने, अन्य श्रमिकको हकमा आफ्नो अधिकार र दायित्वबारे बुझाउँदै व्युटिपार्लर, अनौपचारिक शिक्षा, सिलाइकटाइ तालिमका लागि पनि सहयोग गर्दै आएको बताउनुभयो । साथै यस क्षेत्रको व्यवसायीलाई पनि श्रमिकलाई गर्नुपर्ने व्यवहार, अधिकारका साथै श्रम ऐनबारे जागरणमुलक कार्यक्रममा सहभागी गराउँदै आएको बताउनुभयो ।
त्यसैगरी साथी संस्थाकी प्रतिनिधी सविना श्रेष्ठले साथी संस्थाबारे जानकारी दिंदै हिंसामा परेका बालबालिका र महिलालाई पुनस्थार्पना गृहको सुविधा उपलब्ध गराएर सहयोग गर्दै आएको बताउनुभयो ।

Share post:

Recent