मानव बेचबिखन न्यूनिकरणमा सरकारी निकायको भुमिका संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ। मानव बेचविखन प्रभावित व्यक्तिको मात्र समस्या नभई मानव समुदाय विरूद्धकै सङ्गठित अपराध भएकोले यस विरूद्ध लड्न पनि एकतावद्ध रूपमै लाग्नुपर्नेमा जोड दिइएको छ । महिला तथा बालबालिका बेचविखन विरूद्ध सहकर्मी समूह, नेपाल –(एटविन) द्वारा मानब बेचविखन विरूद्धको राष्ट्रिय दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षित युवा वर्ग नै मानव बेचविखनको समस्यामा परिरहेको सन्दर्भमा यस विरूद्धको अभियान सफल बनाउन पनि व्यक्ति, राज्यका हरेक निकायसमेतको ऐक्यवद्धता औंल्याइएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले मानव बेचविखन जस्तो निन्दनीय घटनामा परेर नेपालीले दुःख पाउन नपरोस् भन्ने उद्देश्यका लागि राज्यले बनाएका नीतिको कार्यान्वयन र यस अभियानमा संलग्न सबै संस्थासँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले मानव बेचविखन भन्ने विषय महिला÷किशोरीसँग मात्र सम्वन्धीत विषय होइनन्, हाल बालबालिका र किशोर वा पुरूष पनि यस समस्याबाट प्रभावित भइरहेको सुनाए। मानवबेचविखन विरूद्धको जागरणमुलक कार्यक्रमलाई चर्चा गर्नुपर्ने विषय नै होइनन् भनेर बजेट नछुट्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने र स्थानीय स्तरसम्म पुगेर यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा बताए । शक्ति समुहका अध्यक्ष चरीमाया तामाङले विगतमा दुरदराजका नपढेका महिला÷किशोरीलाई ललाई, फकाई सिमा पार गराउने अवस्था थियो भने आज शिक्षित वर्गले पनि वैदेशिक रोजगारीको नाममा श्रम शोषणमा पर्ने प्रवृत्ति बढेकोले मानव बेचविखनको शैली परिवर्तन भइरहेको बताउनुभयो । उहाँले मानव बेचविखनमा परिसकेपछि उद्धार, पुनस्र्थापना र समाजमा पुनर्मिलन गराउने कार्यक्रमलाई प्रभावकारी रूपमा गर्न सम्वन्धीत निकायसँग समन्वयको अभाव छ, भन्नुभयोे । मानव बेचविखन विरूद्धको अभियानमा शक्ति समूहको माध्यमबाट २५ वर्षदेखि काम गरेको अनुभव सुनाउँदै अध्यक्ष तामाङले मानव बेचविखनको अपराधिक गतिविधी तथा सम्वेदनसिल विषयको मुद्दामा अदालतले अन्य सामान्य मुद्दाको रूपमा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले मानव बेचविखन न्युनिकरणका लागि नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने सवालबारे चर्चा गर्दै मानव बेचविखनको मारमा नेपाली विदेशमा मात्र परेका छैनन्, मनोरन्जन क्षेत्रमा काम गर्ने श्रमिक आन्तरीक रूपमै पनि बेचविखनमा पर्ने समस्या बढिरहेको बताउनुभयो । उहाँले हाल तीन तहको सरकार भएकोले सङ्घ, प्रदेश र स्थानीय तहले बजेटसहित वार्षिक कार्यक्रममा समावेश गरेर मानव बेचविखन विरूद्ध समन्वय गरेर निरन्तर जागरणमुलक काम गर्न आग्रह गर्नुभयो । १६ औं मानब बेचविखन विरूद्धको राष्ट्रिय दिवस, २०७९को सन्दर्भमा ‘तीनै तहको सरकार मानब बेचविखन विरूद्धको सरोकार’ नारा तय गरिएको छ । हरेक वर्ष भदौ २० गते मानव बेचविखन विरूद्धको दिवस मनाउँदै आएको छ ।

Share post:

Recent