सुदूरपश्चिम नेपालको दार्चुला जिल्लामा शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लामा पानीका कारण भएका छुट्टाछुट्टै घटनामा १० जना बेपत्ता भएका छन् । कम्तीमा आठ जना गम्भीर घाइते भएका छन् ।
महाकाली नगरपालिका र नौगाड गाउँपालिका विपद्बाट सबैभन्दा बढी प्रभावित भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृत्यु हुनेमा महाकाली–२ का ७७ वर्षीय नन्दराम बोहरा रहेको प्रहरीले जनाएको छ । महाकाली–१ की ४५ वर्षीया मन्मती कार्कीस नौगाड–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १४ वर्षीया धनमती ठगुन्नास नौगाड–२ का मोहनराम पार्की ।
बस्तीभन्दा केही माथि ठूलो पहिरो खसेर नौगाड–१ मा केही घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । घटनामा अन्य दुई जना बेपत्ता भएका छन् । यस्तै नौगाड–२ मा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने अर्का स्थानीय बेपत्ता भएका छन् ।
महाकाली–३ डुङ्गरीका धनसिंह कार्की र उनका दुई छोरा बाढीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीमा परी महाकाली–२ की मन्मती साहु, महाकाली–४ की मोहन लुहार र सरस्वती लुहार बेपत्ता भएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरले नौगाडबाट घाइते पाँच जनाको उद्धार गरेको छ । घाइतेहरुको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।
बाढी आएको लस्कु खोलाले दुहुन र महाकाली जोड्ने झोलुङ्गे पुल र मोटरेबल सडक भत्काएको छ । बाढीले सो क्षेत्रमा पार्किङ गरी राखिएका पाँचवटा बोलेरो जीप, एउटा ट्याक्टर र एउटा कार पनि बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासनले प्रभावितको उद्धार र बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी परिचालन गरेको छ । यसैबीच, सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश मन्त्रीहरू रणबहादुर रावल र मानबहादुर धामीले खाद्यान्न, कम्बल, तारपाललगायत राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका छन् ।