लायन्स क्लव अफ अव्वल भ्याली तथा लियो क्लव अफ अव्वल भ्यालीको आयोजना तथा फिजिसियन्स फर सोसियल रेष्पोन्सिबिलिटी, नेपालको सहकार्यमा हालै एक बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्जमा अध्ययनरत लियो क्लव अफ अव्वल भ्यालीका लियो सदस्यहरूको विशेष सकृयतामा उक्त शिविर सम्पन्न भएको कुरा लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले बताएका छन् ।
लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ J अन्तर्गतको क्लव लायन्स क्लव अफ अव्वल भ्यालीका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काका अनुसार महाराजगन्ज क्याम्पसमा अध्ययनरत लियो विद्यार्थीहरूको पहलमा त्रि.वि.शिक्षण अस्पतालमा कार्यरत विभिन्न विधाका चिकित्सकहरूको टोलिले गाेरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नं. ८ बुंकाेटस्थित रामेश्वरी माध्यमिक बिद्यालयमा आयोजित उक्त स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पिडित महिला तथा पूरूषहरू गरी ४५० जनाभन्दा बढी बिरामीहरूको स्वास्थ्य जांच गरी आवश्यक ओषधिहरू समेत निशुल्क प्रदान गरिएको थियो ।
सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले उक्त स्वास्थ्य शिविरकाे व्यवस्थापनकाे लागि आवश्यक सहजिकरण गरिदिनुभएकाे तथा पालिका उपाध्यक्ष इन्दीरा तिवारी तथा वडा नं. ८ का वडाध्यक्ष बासुदेव ढकाल समेतको उपस्थितिमा सम्पन्न भएको उक्त शिविरमा सहिद लखन गाउँपालिका तथा आसपासका क्षेत्रबाट समेत आएका बुढाबुढी, केटाकेटी समेतले स्वास्थ्य जांच गराई प्रेसकृप्सन अनुसारको ओषधिहरू समेत प्राप्त गरेका थिए ।
उक्त स्वास्थ्य शिविरमा आफूलाई जंचाउन आएका बिरामी तथा कार्यक्रमका अन्य सहभागीहरूले काठमाडौदेखि यति टाढासम्म आएर निशुल्क रूपमा ओषधिसहितको स्वास्थ्यसेवा प्रदान गरेकोमा आयोजक लायन्स क्लव अफ अव्वल भ्याली, लियो क्लव अफ अव्वल भ्याली तथा फिजिसियन फर सोसियल रेष्पोन्सिबिलिटी, नेपाल गरि तिनै वटा संस्थालाई हार्दिक धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तो खालको सेवा प्राप्त गर्ने अभिलाषा राखेको बताइएको छ ।