अछामका विभिन्न स्थानमा शुक्रबार पहिरोमा परी १७ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजेसम्म ६ जना बेपत्ता भएका छन् ।
अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखण्ड गाउँपालिकाको पहिरोमा परी चार जनाको शव फेला परेको छ भने पाँच जना अझै बेपत्ता छन् ।
यस्तै ढकारी गाउँपालिकाको ढुंगाचलनामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोपमा एक जना अझै बेपत्ता र पाँच जना घाइते भएको रिजालले जानकारी दिए । कमलबजार नगरपालिकाको डुंगलामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
यस्तै, कमलबजार नगरपालिकाको हातीबाँझामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
तीन दिनदेखि परेको अविरल वर्षाका कारण अछाममा विद्युत र सडक सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।
घाइतेहरुको हेलिकप्टरबाट उपचारका लागि उद्धार भइरहेको छ ।