काठमाडौं। निर्वाचन पर्यवेक्षण समिति नेपालले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को पर्यवेक्षणका लागि पाँचसय ६ जना पर्यवेक्षक खटाउने तयारी गरेको छ ।
सो समितिद्वारा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा निर्वाचन स्थलमा गरिने व्यवस्थापन, जनसहभागिता, समावेसि, सुरक्षाका विषयमा पर्यवेक्षण गर्न ७७ जिल्लाका लागि पाँचसय ६ जना पर्यवेक्षकमध्ये ४६ वटा जिल्लामा करिब ढेड महिना र अन्य पर्यवेक्षक मतदानका समयमा तीन दिनका लागि खटाइने समितिले जानकारी गराएको हो ।
समितिका अध्यक्ष प्रदिप पोखरेलले विगतका निर्वाचनहरूमा पनि समितिले पर्यवेक्षण गर्दै आएको जानकारी दिंदै आगामी मङ्सिरका लागि घोषणा गरिएको निर्वाचनमा पनि स्वतन्त्रता, निश्पक्षता, तटस्थता, र समानता शीर्षकमा पर्यवेक्षण गर्न पर्यवेक्षकको समन्वय गरिने जानकारी दिए।
उनले निर्वाचन पर्यवेक्षण नियमित प्रक्रिया जस्तो देखिएपनि यससँग सम्वन्धित सैद्धान्तिक तथा व्यवहारिक पद्धतिका विविध आयामहरुबाट अध्ययन अवलोकन गरी प्राप्त तथ्य र तथ्याङ्कका आधारमा आगामी रणनीतिक योजनाहरु बनाउन सहयोग पुग्ने बताए ।
समितिले गत स्थानीय निर्वाचनमा ‘‘मतदाताहरुको व्यवहार र मतदान’’ को अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ भने ‘‘महिला सहभागिताः अवरोध र सम्भावनहरु ’’ विषयको प्रतिवेदन छिटै सार्वजनिक गरिने समितिले जनाएको छ ।
सो संस्थाले २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा निर्वाचन आयोग, सरकार, राजनीतिक दल, तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारको अभियानमा भएको खर्चको अनुमानित लागत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अध्ययनको निरन्तरता स्वरुप भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन अभियानमा भएको खर्चको अनुमानित विवरण पनि सार्वजनिक गर्ने जनाएको छ ।
समितिका अध्यक्ष पोखरेलका अनुसार सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार नेपालको जेलभित्र रहेका कैदीबन्दीहरुलाई पनि मतदानको अधिकार दिनुपर्नेछ, यसका लागि निर्वाचन आयोगले कैदीबन्दीहरुलाई समानुपातिक निर्वाचनतर्फ मतदानमा सहभागिताको लागि तयारी गरेको छ । समितिले यसको पनि अवलोकन, अध्ययन गर्ने उद्देश्यले ७४ वटा जेलहरुमा नै पर्यवेक्षण गर्ने गरी पर्यवेक्षकहरु खटाउने तयारी पुरा भएको छ ।