दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १२ जनाको मृत्यु, ३५ भन्दा बढी घाइते

मकवानपुर र रुकुम पूर्वमा बिहीबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । मकवानपुरको हेटौंडा–कुलेखानी सडकखण्डको जुरीखेतमा यात्रुबाहक बस सडकबाट ५० मिटर तल खसेर सात जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । गम्भीर घाइते तीनजनालाई चितवन र २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भीमफेदी गाउँपालिका–६ को धारिलो मोडमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस एघाराघुम्ती क्षेत्रमा सडकबाट खसेको हो । दुर्घटना हुँदा जहाजमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घाइतेहरुलाई भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि हेटौंडा ल्याइएको छ ।

रुकुम पूर्वको भुमे गाउँपालिका–३ क्याङ्सीबगरमा बिहीबार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । काठमाडौंबाट रुकुमकोट जाँदै गरेको बस सडकबाट खसेको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । बसको पछाडिको चक्का खाल्डोमा फसेर सन्तुलन गुमाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

डाँगीका अनुसार गम्भीर घाइते चारजनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ भने आठ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Share post:

Recent