मनास्लु हिमालमा सोमबार बिहान साढे ११ बजेतिर गएको हिमपहिरोमा परी केही घाइते भएको बताइएको छ । क्याम्प ३ र ४ को बीचमा आएको हिमपहिरोमा फसेका आरोहीहरुको उद्धार गर्न काठमाडौंबाट उत्तरी गोरखाको समगाउँसम्म हेलिकप्टर परिचालन गरिएको समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।
मनास्लु हिमाल आरोहणका सरकारी फोकल पर्सन यशोदा आचार्यले केही घाइते भएको खबर आए पनि विवरण आउन बाँकी रहेको बताए । हिमपहिरोका कारण पहाडमा अलपत्र परेका आरोहीहरुको उद्धार गर्न काठमाडौंबाट कैलाश एयरको हेलिकप्टर समगाउँ पुगेको छ । मनास्लु आधार शिविरको मौसम प्रस्ट नभएकाले उद्धारमा बाधा पुग्ने समगाउँमा रहेका आचार्यले बताए । पर्यटन विभागले हिमपहिरोमा परेको पुष्टि गरेको छ । विभागका निर्देशक युवराज खतिवडाले भने विभागले घटनास्थलका अधिकारीसँग सम्पर्क गर्न नसकेको बताए ।
मनास्लु आरोहणका लागि आधार शिविरमा रहेकी पर्वतारोही पूर्णिमा श्रेष्ठले क्याम्प १ र क्याम्प २ का शेर्पाहरू खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ गइरहेको जानकारी दिनुभयो । पर्यटन विभागले शुक्रबारसम्म शरद ऋतुमा ८ हजार मिटरभन्दा अग्ला तीन हिमालसहित १५ हिमाल आरोहणका लागि ५८ विभिन्न आरोहण टोलीबाट विदेशी आरोहीलाई ५०५ र एक नेपाली आरोहीलाई ५०६ वटा अनुमति दिएको छ ।