पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा वाग्मती प्रदेशकी शिक्षा नापितले महिलाको व्यक्तिगत सेबरमा स्वर्ण जितेकी छन् ।
अक्टोबर १४ बाट औपचारिक रुपमा सुरु हुने राष्ट्रिय खेलकुदको यो दोस्रो स्वर्ण पदक हो । यसअघि नेपाल पुलिस क्लबले टी–२० क्रिकेटको उपाधि जितेको थियो ।
नापितले उपाधि भिडन्तमा नेपाल एपीएफ क्लबकी उर्मिला लामालाई हराए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी रविना थापा र मनिषा श्रेष्ठले कास्य पदक जितेका छन् ।
पोखरा रंगशालाको ब्याडमिन्टन कभर्ड हलमा सोमबारदेखि सुरु भएको फेन्सिङमा बागमती, गण्डकी, सुदूरपश्चिम, प्रदेश १, एपीएफ र आर्मी गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । फेन्सिङ इभेन्ट अक्टोबर १४ मा सम्पन्न हुनेछ ।