घटना बिहान करिब ८ बजे भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बालबालिकाले बस्ती नजिकैको कोदो खेतमा बम बरामद गरेको हो । बालबालिकाले ‘नयाँ वस्तु’ लाई ढुङ्गाले प्रहार गरेको वा जिज्ञासाका कारण विस्फोटकसँग खेलेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
आगामी निर्वाचनलाई लक्षित गरी बम विष्फोट गराइएको हो वा दशक लामो सशस्त्र द्वन्द्वको अवशेष हो भन्ने अहिले नै स्पष्ट हुन सकेको छैन प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले भने । मृत्यु हुनेमा सरस्वती राणा र झरना थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झरनाको घटनास्थलमै र घाइते सरस्वतीको सुर्खेतको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
विस्फोटमा परी ७ वर्षीय कमल थापा, ३ वर्षीया दर्शना राना र ५ वर्षीया मुस्कान थापा गम्भीर घाइते भएका छन् । कमलको दुवै खुट्टा र दाहिने हात भाँचिएको र दर्शनाको पेट र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै, मुस्कानको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । घाइते बालबालिकालाई नेपाली सेनाको हेलिकप्टरले सुर्खेत पुर्याएको छ । घाइते बालबालिका खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
घटनास्थल कालिकोट सदरमुकाम मन्माबाट करिब ५० किलोमिटर दक्षिण पूर्वमा रहेको छ । विष्फोट लगत्तै नेपाली सेना र नेपाल प्रहरीको सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार घटनास्थलमा फलामका केही थोपा बरामद भएको छ ।