ट्वीटरका भेरिफाइड प्रयोगकर्ताले मासिक २० डलर तिर्नुपर्ने

ट्वीटरले नयाँ नियम ल्याउने तयारी गरेको छ। यसअन्तर्गत ब्लु टिक पाएका प्रयोगकर्ताले आफ्नो भेरिफिकेसन ब्याज जारी राख्न प्रतिमहिना १९.९९ डलर (करिब २७ सय रुपैयाँ) तिर्नुपर्ने छ। प्रयोगकर्ताले उक्त रकम तिरेनन् भने उनीहरूको अकाउन्टबाट ब्लु टिक हटेर जाने बताइएको छ।

एलन मस्कले ट्वीटरलाई आफ्नो स्वामित्वमा लिएपछि ब्लु टिकका लागि शुल्क बढाउने योजना ल्याएका हुन्। ब्लु टिक ट्वीटरको प्रिमियम सेवाअन्तर्गत पर्ने भएकाले उक्त चेक मार्क कायम राख्न प्रयोगकर्ताले मासिक १९.९९ डलर तिर्नुपर्ने हुन्छ।

आफू चर्चित व्यक्ति हुनुका साथै ठूला मिडियामा फिचर भइसकेको र बढी सब्स्क्राइबर हुँदा पनि ट्वीटरबाट अकाउन्ट भेरिफाइ नभएको जोन क्रउसले गुनासो गरेका थिए। उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले ट्वीटर ह्यान्डल भेरिफिकेसनको प्रक्रिया तत्कालै परिमार्जन भइरहेको भन्दै ट्वीटको रिप्लाई दिएका थिए।

कम्पनीले अन्य फिचरहरू समावेश भएको ट्वीटर ब्लुका लागि मासिक शुल्क ४.९९ डलर शुल्क कायम गरेको थियो। ट्वीटर ब्लुलाई ट्वीटरको प्रिमियम सेवा मानिन्छ। त्यसैअन्तर्गत कम्पनीले ट्वीटर ब्लुको सब्सक्रिप्सन बढाएर प्रतिमहिना १९.९९ डलर पुर्‍याउने योजना बनाइरहेको छ।

ट्वीटरको भेरिफिकेसन ब्याज पनि प्रिमियम सेवाअन्तर्गत पर्ने भएकाले ब्लु टिक पाएका प्रयोगकर्ता स्वतः प्रति महिना तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ। यो परियोजनामा काम गरिरहेका कर्मचारीलाई आइतबारबाट उक्त काम सुरु गर्न भनिएको छ।

नोभेम्बर ७ (कार्तिक २१) गतेसम्म उक्त फिचर लन्च गर्न नसकेको खण्डमा त्यस परियोजनामा काम गर्ने सम्पूर्ण कर्मचारी बर्खास्त हुने मस्कले चेतावनी दिएका छन्।

ट्वीटर प्रयोगकर्ताको अकाउन्ट भेरिफाइ गर्ने र बट व्यवस्थापन गर्ने प्रक्रियालाई मस्कले परिमार्जन गर्ने बताएका छन्।

श्रोत: CBC News (क्यानेडियन न्युज मिडिया)

Share post:

Recent