आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ। आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ। तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ। कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ।
गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो। त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन।
त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भर्याङ निर्माण गरेर वारपार गर्न मिल्ने गरी वैकल्पिक पुल निर्माण भएको हो।
बाढीपहिरोले पुलको आधा भागमा लट्ठाबाहेक सबै बगाएको थियो। पुलका लट्ठा मात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भ¥याङ भए पनि बनाएर आउजाउ गर्न सहज बनाइदिएको मल्लले बताए।
उनका अनुसार पुल नहुँदा नागरिक पैदल हिँडेर तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर जान बाध्य थिए। कोरिडोर खुलेको खण्डमा जितेको पुलको आवश्यकता हुन्छ तर बाढीले पुलको आधा भाग बगाएकाले आउजाउ गर्न नसक्ने अवस्थाको थियो।
कात्तिक ४ गते बसेको विपत् व्यवस्थापन समितिको बैठकबाट जितेलगायतका तीनवटा पुलमा मानिस आउजाउ गर्न नसक्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्मतका लागि पत्राचार गरिएको थियो।
गोरखापत्र दैनिकबाट