बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिप मंगलबारबाट ढाकामा सुरु हुँदै छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली ढाका पुगिसकेको छ। नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ।
प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानामगरले उपाधिका लागि तयार भएको प्रतिक्रिया दिएकी थिइन्। उनले प्रतियोगितामा सहभागी सबै टोलि बलिया भएता पनि आफूहरु शारीरिक र मानसिक रुपमा तयार रहेको बताइन्। ‘प्रतियोगितामा सहभागिता जनाउन पाउँदा खुसी छौँ, हामी प्रतिस्पर्धा गर्न तयार छौँ,’ रानामगरले भनिन्, ‘प्रतियोगितामा सहभागी सबै टोली बलिया छन्, हामी शारीरिक र मानसिक रूपमा तयार छौँ।’
नेपालले प्रतियोगिताका लागि एक महिना देखि तयारी गरेको उनको भनाइ थियो। मुख्य प्रशिक्षक मगरले नेपाली महिला खेलाडीले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलिरहेको बताइन्। उनका अनुसार त्यहाँको गर्मी मौसमले भने नेपाली टोलीलाई कठिन बनाउन सक्नेछ। ‘सबै खेलाडीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गइरहेका छन्। हामीलाई गर्मी मौसमले कठिन बनाउनेछ,’ उनले भनिन्।