काठमाडौँ र भक्तपुरमा एक/एक जना युवकलाई जबर्जस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् भने भक्तपुरमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एज युवकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
यसै गरी भक्तपुरमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। खड्काले ती बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।