यी हुन् काठमाडौँ क्षेत्र नं. ०५ का प्रतिनिधि सभा उमेदवारहरु

आउँदो मंसिर ४ गते हुने निर्वाचनको सर्गर्मी नेपाल भर नै बढेको छ। हरेक क्षेत्रमा चुनावी माहोल तातिन थालेको छ। बिहानको चिया गफ देखि बेलुका सम्म हरेक चोकमा निर्वाचनको कुराकानी र जीतको अड्कलबाजी हुन थालेको छ। जाडो मौसमको सुरुवात हुँदै गर्दा चुनावले भने पुरै देश तताउन थालेको छ।

यस्तै सर्गर्मी देशकै राजधानी काठमाडौँमा झन् अत्यधिक नै रहेको छ। काठमाडौँको हरेक निर्वाचन क्षेत्रमा चुनावी चहलपहल बढ्न थाली सकेको छ। काठमाडौँका चोक, अफिस, होटेलहरुमा चुनावी गफगाफ दिनभरी नै चलिरहन्छ।

यस्तै माहोल छ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा पनि। काठमाडौँ क्षेत्र नं ५को प्रतिनिधि सभा तर्फ शीर्ष पार्टीहरुबाट अहिले एकजना पुरानै उमेदवार रहेका छन् भने अन्य उमेदवारहरु नयाँ रहेका छन्। यस अर्थ पनि यस क्षेत्रको निर्वाचन निकै रोचक रहने देखिन्छ।

यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्ना पुरानै उमेदवारलाई ठाउँ दिएको छ। ती उमेदवार अरु कोही नभइ प्रतिनिधि सभा निर्वाचन २०७४का निर्वाचित उमेदवार ईश्वर पोखरेल रहेका छन्। उनले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट २३,०२९ मत प्राप्त गरी विजयी भएका थिए। यो मत कुल मतको ५१.५१% रहेको छ।

यसै गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेललाई उमेदवार बनाइएको छ। उनी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रहेका छन्। उनलाई पहिले ५१.५१ प्रतिशत मतका साथ विजयी ईश्वर पोखरेललाई टक्कर दिन कति सहज रहला यो यस क्षेत्रका जनताहरुको चासोको विषय रहेको छ।

यसै गरी यस क्षेत्रमा जनता समाजवादी पार्टीका भिम बहादुर मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राम प्रसाद उप्रेती, नेपाल मजदुर किसान पार्टीबाट शैलेश डंगोल, लोकतान्त्री समाजवादी पार्टीका तर्फबाट दानिन्द्र जोशी त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रणय शमशेर राणाको उमेदवारी रहेको छ।

यति मात्र नभइ अन्य केही साना दलका तर्फबाट पनि उमेदवारी रहेको छ भने रञ्जु दर्शना, हेमराज थापा लगायतका केही स्वतन्त्र उमेदवारहरु पनि यस निर्वाचन क्षेत्रमा रहेका छन्।

Share post:

Recent