तीन महिनादेखि रोकिएको हेटौंडा सिमेन्टको उत्पादन फेरि सुरु भएको छ। आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि उत्पादन बन्द थियो।
कोइला विक्रेतासँग अनुरोध गरेर केहि समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए। कोइला सप्लाईका लागि बोलपत्र आह्वान गरिसकिएको उनले जानकारी दिए। भारत, भुटान, इन्डोनेसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन सहज हुने उनको भनाइ छ।
‘उद्योगमा आर्थिक समस्या त छँदैछ। त्यसैकारण पनि कोइलाको व्यवस्थापनमा हामीलाई समय लाग्यो। केहि मेसिन मर्मत गर्नुपर्ने पनि थियो। हामीले यी समस्याहरु समाधान गरिसकेका छौं। अब उद्योग निरन्तर चल्छ’, महाप्रबन्धक पाण्डेले बताए।
उत्पादन लागत भन्दा कममा घाटा खाएर सिमेन्ट बेच्नुपर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएको उनले बताए। ‘सिमेन्ट बिक्रीबाट भएको आम्दानीले उद्योगको खर्च धान्न सक्ने अवस्था छैन। एक बोरा सिमेन्ट ९ सय रुपैयाँमा उत्पादन गरेर ७ सय ४७ रुपैयाँमा बेच्दा उद्योगलाई कसरी नाफामा लैजान सकिन्छ?’, उनले भने, ‘उद्योगमा आइरहने यसखालको समस्या अन्त्य गर्न र नियमित सञ्चालनका लागि सरकारकै पहल आवश्यक छ।’
उद्योगलाई नियमित र नाफामा सञ्चालन गर्न नयाँ प्रविधिमा जानुपर्ने महाप्रबन्धक पाण्डेले बताए। जसका लागि उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि १ अर्ब रुपैयाँ र नयाँ प्लान्ट निर्माणका लागि ५ देखि ८ अर्ब रुपैयाँ रकम लाग्ने उनले जानकारी दिए। मर्मत खर्चका लागि उद्योगले आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्न सरकारसँग अनुमति मागेको छ। नेपाल राष्ट्र बैंकले उद्योगको जग्गा खरिद गर्न चासो देखाएकोले सरकारले जग्गा बेच्न अनुमति दिनुपर्ने उनले बताए।
४० वर्षअघि स्थापना भएको उद्योगमा हाल २ सय १८ जना कर्मचारी छन्। उद्योग सञ्चालन भएको अवस्थामा दैनिक १० देखि १४ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ।