नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। उनीहरु भारतिय नागरिक रहेको प्रहरीले जनाएका छन्।
पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिलकुमार शास्त्री र सीतामढी चोरौत पूर्वी वडा नं.१ बस्ने वर्ष २४ को मनीषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार मटिहानी नगरपालिका वडा नं. ८ स्थित धानबजार चौकमा दुई जना भारतीय नागरिकहरू भारतीय नक्कली नोट बोकी सामान खरिद गर्न आएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो। सुचना प्राप्त हुनासाथ खटिएको प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको उनले बताए।
शंकास्पद अवस्थामा पक्राउ परेका दुवैजनालाई खानतलाशी गर्दा सुनिलकुमार शास्त्रीको साथबाट तीन हजार दुई सय भारतीय नक्कली नोट, भिवो कम्पनीको मोबाइल र निजको आधार कार्ड फेला परेको र मनिषकुमार पासवानको साथबाट रेडमी कम्पनीको मोवाईल र निजको आधार कार्ड बरामद भएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए। शास्त्रीको साथबाट भारतीय रुपैया पाँच सयको नोट दुई थान, दुई सयको नोट पाँच थान, एक सयको नोट दुई थान बरामद भएको हो।
उनले दुबै जनाको महोत्तरी जिल्ला अदालतबाट सात दिने म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा थप अनुसन्धान गरिरहेको बताए।
खुला सिमानाका कारण महोत्तरीमा पटक पटक भारतीय नक्कली नोट, अवैध भारतीय रकमसहित पक्राउ पर्ने बढेको देखिन आएको छ।