कांग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको बताएका छन्। उनी नवलपुर क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका छन्। उनले कांग्रेस सम्मिलित गठबन्धनले आगामी निर्वाचनमा बहुमत ल्याए स्थिरतासहित विकासको ग्यारेन्टी दिइने बताएका हुन्।
नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै कोइरालाले बहुमत प्राप्त भए स्थिरतासँगै विकास दिइने वाचा गर्दै भने ‘संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन।’
उनले आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको समेत बताएका थिए। उनले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको सुनाए।
उनले अघिल्लो कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिए पनि जिल्लामा स-साना विकासका कार्य भएको र अबको कार्यकाल पूर्णरुपमा विकासका लागि रहेको बताए। केही दिनअघि बिरामी भएका कोइराला उपचारपछि पुनः निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन्।