नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमालेका अध्यक्ष केपी शर्मा ओली धेरै बोल्ने नेता भएको आरोप लगाएका छन्। बुधबार रिपोर्टस् क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा महतले यस्तो टिप्पणी गरेका हुने।
उनले त्यसको ठीक उल्टो कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने कम बोल्ने र खुरुखुरु काम गर्ने नेता रहेको दाबी गर्दै भने, ‘ओलीजी गफ धेरै गर्नुहुन्छ, काम गर्नुहुँदैन, देउवाजी कम बोल्नुहुन्छ, खुरुखुरु काम गनुहुन्छ।’
डा महतले निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्ने पनि दाबी गरेका छन्। काँग्रेस निर्वाचन प्रचार प्रसार समितिका संयोजक समेत रहेका प्रवक्ता डा महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली काँग्रेस उम्मेदवार भएकोले अन्य पार्टी भन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने बताए।
पाँच बर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा पनि समेटिएको भन्दै महतले एमालेले काम नगरी एउटै कुरा दोहोर्याएर जनतालाई झुक्याउने काम गरेको आरोप लगाए।
कार्यक्रममा केन्द्रीय सदस्य डा डिला संग्रौलाले काँग्रेसले प्रत्यक्षमा महिलालाई टिकट दिने क्रममा केही कमजोरी भएकोले नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताइन्। उनले आगामी दिनमा महिला नेतृत्वलाई सक्षम बनाउने गरी अगाडि बढ्ने पनि बताइन्।