काठमाडौँ – आज हरिबोधनी एकादशीका दिनबाट बूढानीलकण्ठमा पाँचदिने मेला सञ्चालन हुँदैछ। एउटा छुट्टै महत्व बोकेको सुन्दर कलात्मक कृतिसहितको ठूलो हरि र हरले युक्त मूर्तीरहेको यस बूढानीलकण्ठ मन्दिर क्षेत्रमा सदियौँदेखि हरिबोधनी एकादशीका दिन देखि पाँच दिनसम्म मेला सञ्चालन हुँदै आएको छ। सँधै झैँ यस वर्ष पनि आजका दिन देखि पाँच दिनसम्म मेला सञ्चालन हुने भएको हो। यसका लागि भव्यरुपमा तयारी भइसकेको बताइएको छ।
बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीका अनुसार यस वर्ष बढि भन्दा बढि आन्तरीक र वाह्य भक्तजनहरु भित्राउने उद्देश्य सहित नगरपालिका र बूढानीलकण्ठ मंदिर व्यवस्थापन समिति लगायत अन्य संघ संस्थाहरुको संयुक्त सहकार्यमा तयारी गरिएको छ। नगरप्रमुख अधिकारिका अनुसार कार्त्तिक १८ देखि कार्त्तिक २१ गते सम्म सञ्चालन हुने मेलामा भक्तजनहरुको सहजताका लागि सोधपुछ कक्ष, पार्किङ एरिया, स्वास्थ्य सिविर, चिया\खानेकुरा स्टल, मनोरञ्जन स्टल जस्ता व्यवस्थाहरु मिलाईएको छ। यसका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरि कार्य विभाजन गरिएको छ। यी सबै सेवाहरुको व्यवस्थापनका लागि बिद्यालय, स्काउट, युवा क्लब लगायत विभिन्न संघ संस्थाबाट ४०० भन्दा बढि स्वयंसेवकहरु समेत परिचालन गरिने उनले बताए।
मेलाकै अवसर पारेर कार्त्तिक १५ गते सोमबार देखि सातदिने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि सुरु गरिएको बूढानीलकण्ठ मंदिर मठाधिश एवम् संरक्षक श्री १००८ स्वामि निगमानन्द महाराजले जानकारी दिए। सप्ताहमा बूढानीलकण्ठको महत्व बुझाउने जानकारीमूलक प्रवचन पनि भइरहेको उनले बताएका छन्।
बूढानीलकण्ठ मंदिर मठाधिश एवम् संरक्षक श्री १००८ स्वामि निगमानन्द महाराजका अनुसार कार्त्तिक २१ गतेसम्म सञ्चालन हुने हरिबोधिनी एकादशी मेलामा सांस्कृतिक झाँकीसमेत प्रदर्शन हुनेछन्।
आषाढ शुक्ल पूर्णिमाका दिन क्षीर सागरमा शयन गर्नुभएका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुनुहुने भएकाले यो एकादशीलाई हरिबोधिनी भनिएको हो। यो चार महिनाको समयलाई चतुर्मास पनि भनिन्छ। यस समयमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ।