विकासका एजेन्डा बोकेर मनाङका उम्मेदवार घरदैलोमा

मनाङ – हिमालपारिको जिल्ला मनाङमा मौसम दिन प्रतिदिन चिसिँदो छ। चिसो बढे पनि चुनावी माहौल भने तात्दै गएको छ। केही दिनअघि काठमाडौंमा भोट माग्न ब्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर विकासे एजेन्डा बोकेर घरदैलोमा पुगेका छन्।

गतवर्ष यतिबेला मनाङीहरू बेंसी झर्न सुरु गरिसक्थे। ढिलोमा मंसिर पहिलो साता झर्ने गरे पनि सुरुवात अहिलेदेखि नै हुन्थ्यो। मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङ्डुङ गुरुङले चिसो बढ्दै गए पनि अहिले नै बेंसी झर्ने छुट नरहेको बताए। ‘चिसो बढ्दै आएको छ। काठमाडौं जाउँ भने चुनाव मुखैमा आयो। बेंसी झर्नुपर्ने बेला काठमाडौं–पोखरा बस्दै आएकाहरू पनि चुनावले गाउ आउने भए ,’ उनले भने। गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन्। चुनावपछि मात्रै काठमाडौं जाने सल्लाह भएको उनले बताए।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए। ‘मनाङी चुनाव कुरिरहेका छन्। चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने भनिरहेका छन्,’ उनले भने। उनका अनुसार उम्मेदवार गाउँ आएका छैनन्। उम्मेदवार आएपछि मात्रै चुनावी माहौल सुरु हुने उनले बताए। मनाङको नार्पाभूमिका बस्ती नार र फू गाउँ समुद्री सतहदेखि ४ हजार मिटर माथि छ। गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार चिसो बढिसकेको छ। गाउले चुनावको पर्खाइमा छन्।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीमा अहिले बेंसी झर्ने सुरसार छैन। गतवर्षभन्दा यस वर्ष चिसो अलि छिटो बढेको आभास भएको उनले बताए। ‘गतवर्ष अलि ढिलो चिसो बढेको हो। मंसिर पहिलो साता मनाङी झरिसक्थे। कात्तिक पहिलो सातादेखि जान सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन्। चुनाव सकेर जाने भन्दै छन्।’

मनाङमा एमालेबाट प्रतिनिधिसभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन्। सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ उठेका छन्। मनाङ प्रदेशसभा ‘१’ मा एमालेबाट राजनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ उम्मेदवार छन्।

नेपालमै सबैभन्दा कम ६ हजार ४९६ मतदाता रहेको मनाङमा सदरमुकामदेखि ३ दिनको पैदल दूरीमा समेत मतदानस्थल छन्। सबैभन्दा कम मतदाता नार्पाभूमि गाउँपालिका–५, फू गाउँको वडा कार्यालय मतदानस्थलमा कुल ७० मतदाता छन्। सबैभन्दा बढी मनाङ ङिस्याङ–५, भ्राका आधारभूत विद्यालय मतदानस्थलमा ५५७ जना मतदाता छन्।

मनाङमा तीन खाले मतदाता छन्। गाउँमै रहेका रैथाने मतदाता न्यून छन्। अर्काखालका मतदाता गाउँकै भए पनि बसोबास र व्यवसाय गाउँमा छैन। पोखरा, काठमाडौं वा अन्य सहरमा बसोबास गर्ने उनीहरू चुनाव, चाडपर्व वा जन्म मृत्युसहित धार्मिक संस्कारमा सहभागी हुन मात्र गाउँ आउँछन्। यस्ता मतदाताको संख्या मनाङमा ४० प्रतिशतभन्दा बढी छ। गाउँका मतदाताभन्दा सहरका मतदाता महंगा र निर्णायक मानिन्छन्।

श्रोत: न्यूज कार्खाना

Share post:

Recent