नाकाबन्दीसँगै सुरु भएको सडक अहिलेसम्म बनेन

काठमाडौँ – भारतले नाकाबन्दी लगाएको समयमा नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर निर्माण कार्य गरेको गल्छी-त्रिशूली- मैलुङ-स्याफ्रुबेंसी रसुवागढी सडक आधा मात्रै सकिएको छ। सरकारले २०७२/ ७३ सालमा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ८२ किलोमिटर निर्माण गर्ने योजना अघि बढाएको सडकको ६५ किलोमिटर खण्डको मात्रै ५२.६१ प्रतिशत भौतिक प्रगति भएको छ।

काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीनसँग जोड्ने यो सबैभन्दा छोटो सडक मार्ग सात वर्षदेखि अलपत्र रहेको छ। सडकको रेखाङ्कन नहुनु, मुआब्जा / क्षतिपूर्ति विवाद, सर्वोच्च अदालतको स्टे अर्डर र ठेकेदार कम्पनीको लापरबाही आदि कारणले यो सडक योजनाको निर्माण कार्य प्रभावित हुँदै आइरहेको छ।

गल्छी-त्रिशूली–मैलुङ-स्याफ्रुबेंसी – रसुवागढी सडक योजना प्रमुख ध्रुव श्रेष्ठले भारतीय नाकाबन्दीपछि निर्माण अघि सारिए पनि अपेक्षित गतिमा सडक निर्माण कार्य हुन नसकेको बताए। ‘काठमाडौँ उपत्यकाबाट छिमेकी मुलुक चीन सबैभन्दा छोटो नाकाको सडक सात वर्षदेखि निर्माणाधीन अवस्थामा छ’, उनले भने, ‘सडकको मुआब्जा र क्षतिपूर्ति विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले पनि सडक निर्माणले गति लिन सकेको छैन।’
नागरिक दैनिकबाट

Share post:

Recent