काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ। निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ।
कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ। यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन्। सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन्। गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको अवस्थामा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ। यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ।
राजधानी दैनिकबाट