प्युठान – प्युठानमा जिप दुर्घटना हुँदा एकै घरका २ जनासहित ३ जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीय महिमा घर्तीको घटनास्थलमै ज्यान गएको छ।
प्रहरीका अनुसार प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गए राति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका–५, बस्ने ५० वर्षीय फागुनी खत्री, ५० वर्षीय गोरी घर्ती, १९ वर्षीय बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीय निमा खत्री, ३० वर्षीय जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीय नखी महरा, ४७ वर्षीय गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेको प्रहरीले जनाएको छ। चालक प्युठान नगरपालिका– ९ का २३ वर्षीय बिनोद केएम सामान्य घाइते रहेका छन्। दुर्घटना थापा पाउने बित्तिकै जिल्ला प्रहरीको टोली र स्थानीय बासिन्दाले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेका थिए। रातिको समय भएकाले उद्दारमा समस्या भएको स्थानीयले बताएका छन्।