काठमाडौँ – घण्टी चुनाव चिह्न लिएर निर्वाचनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले मतगणना भइ रहँदा ठूला राजनीतिक दलका शीर्ष नेताहरुको दिमागको घण्टी बजाइ रहेको छ। नवनिर्मित पर्टी भएर पनि यसले देशभरबाट ११ स्थानमा अग्रता लिइ रहेको छ भने अन्य केही स्थानहरुमा झिनो मतान्तरले अग्रता लिइरहेको पार्टीलाई पछ्याइ रहेको छ। पहिलोपटक निर्वाचनमा होमिएर पनि यस पार्टीका नयाँ जल्दाबल्दा युवा उम्मेदवारहरुले एक दशक अघिदेखि राजनीति गरिरहेका ठूला पार्टीका शीर्ष नेताहरुलाई चुनौति दिँदै यस निर्वाचनमा ब्रेक लगाउने स्थितिमा पुर्याइ रहेको छ।
झिनो मतान्तरले अघिपछि भइ रहँदा शीर्ष नेताहरुको पसिना छुट्नु स्वभाविक नै देखिइ रहेको छ। हेरौँ राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिएका मुख्य निर्वाचन क्षेत्रहरुको अवस्था।
रुपन्देही– २
रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना सुरु भएदेखि नै अग्रता लिएको छ। समाचार तयार गरिरहँदाको समयसम्मको मत परिणाम हेर्दा रास्वपाका गणेश पौडेलले २ हजार २ सय ४४ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई पछ्याइरहेका एमाले उपाध्यक्ष विष्णु पौडेल १ हजार ९ सय ४४ मत पाप्त गरेका छन्।
चितवन –२
चितवन २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका भएता पनि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भन्दा ५ सय ४ मतले मात्र अघि रहेका छन्।
पोखरलले ३ हजार ४५ मतका साथ अग्रता लिइरहँदा लामिछानेले २ हजार ५ सय ४१ मतका साथ पछ्याइरहेका छन्। यहाँ कांग्रेसका उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत पाएका छन्।
ललितपुर–३
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन्। एमालेका अमृत खड्कासँग उनकाे प्रतिस्पर्धा भइरहेकाे छ। तोसिमाले ५ हजार १ सय २३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २ सय ९३ मत प्राप्त गरेकी छिन्।
काठमाडौं –२
काठमाडौं –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन्। करिब ५ हजार मत गन्दा १ हजार ७ सय १९ मत ल्याएर उनले अग्रता लिएकी हुन्। दोस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १ हजार २ सय ८९ मत पाएकी छन्।
साथै, राप्रपा उम्मेदवार कुन्ती पोखरेलले १ हजार १ सय १५ ल्याएर तेस्रो स्थानमा छिन् भने नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १ह जार ९३ मत पाएका छन्। यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए।
काठमाडौं – ७
काठमाडाैं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ। यहाँ एमाले दाेस्राे स्थानमा छ। रास्वपाका गणेश पराजुलीले २ हजार ६ सय ६९ मत पाएका छन्। अहिलेसम्म एमालेका श्याम कुमार घिमिरेले २ हजार ५ सय ८७ मत र माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमीकाे २ हजार १ सय ५८ मत छ।
काठमाडौं–८
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता कायम राखेका छन्। उनलाई हाम्रो नेपाली पार्टी (लौरो अभियान) का सुमन सायमीले पछ्याइरहेका छन्।
श्रेष्ठले ५ हजार ३ सय ८६ मत ल्याउँदा सायमीले ४ हजार २ सय ५४ मत पाएका छन्। नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २ हजार १ सय १० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार २ सय मत पाएका छन्।
यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले एकीकृत समाजवादीका श्रेष्ठलाई समर्थन गरेका छन्।
नवलपरासी (पश्चिम)– १
नवलपरासी (पश्चिम)को क्षेत्र– १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका विनोद चौधरीलाई पछि पार्दै रास्वपाका महेन्द्रसेन ठकुरीले अग्रता लिएका हुन्।
रास्वपाका ठकुरीले ३ हजार ९ सय ५८ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका चौधरीले ३ हजार ८ सय ६९ मत पाएका छन्। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९ सय १२ मत पाएका छन्। चौधरीलाई सत्ता गठबन्धनको साथ छ भने हृदयेशलाई एमालेले सहयोग गरेको छ।
झापा–४
झापा–४ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई पछि पार्दै एमालेका एलपी साँवा लिम्बूले अग्रता लिएका छन्।
साँवा एमालेका केन्द्रीय सदस्य हुन्। एमालेका लिम्बूले ४ हजार २ सय ४ मत पाएका छन् भने उनलाई पछ्याइरहेका रास्वपाका ढकालले ४ हजार १ सय ७० मत पाएका छन्। ढकाल पहिलो पटक सांसदमा उठेका हुन् भने साँवा तेस्रोपटक एमालेबाट उठेका हुन्।
कास्की –२
कास्कीका २ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्। क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवातदेखिको अग्रता कायमै छ। ८ हजार ३ सय ५२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल नेकपा एमालेकी विद्या भट्टराई भन्दा १ सय ७४ मतले अगाडि छन्।
कँडेलले २ हजार ४ सय ३१ र भट्टराईले २ हजार २ सय ५७ मत प्राप्त गरे। पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका श्रीनाथ बराल तेस्रो स्थानमा छन्। उनले १ हजार ४ सय ३ मत पाएका छन्।
कास्की –३
कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको अग्रता छ। उनले ३ हजार ३ सय ६ मत प्राप्त गर्दा एमालेका दामोदर पौडेल ‘बैरागी’ २ हजार ९ सय ५१ मत ल्याएर दोस्रो स्थानमा छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका रामजीप्रसाद बराल ‘जीवन’ को पक्षमा १ हजार ८ सय ७८ मत खसेको छ। बराल गण्डकीका अर्थमन्त्री समेत हुन्।